कमलादीको स्काइवाक आजदेखि सर्वसाधारणको लागि खुला

काठमाडौँ । काठमाडौँको कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ । अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन् ।

कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा रु दुई अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिए । “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो”, उनले भने ।

कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ । टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ ।

टावरको २१ औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ । त्यति नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ । टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ । टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ । साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ ।

हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए । टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ । जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ । दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ ।

सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा पाँच सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिए । उनका अनुसार टावरका तीन तलाका रेष्टुराँमा एकैपटक एक हजार जनाभन्दा बढी बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ र टावरमाथि नै शौचालयको व्यवस्था पनि गरिएको छ ।

स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ । त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा दुई जनाभन्दा बढी जान मिल्दैन ।

कुल १३ रोपनी दुई आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ भने सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ । सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि एक दशमलव पाँच एमएम, १० एमएम, एक दशमलव पाँच एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ ।

स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु एक हजार तोकेको छ । तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ ।

कम्पनीमा करिब ९० जना सेयरधनी रहे पनि सञ्चालकमा आविष्कार पोख्रोल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेजबहादुर सिंह हुनुहुन्छ । कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ ।