चार वटा बच्चा जन्माएको आरोपमा प्रहरी हबल्दार निलम्बित

काठमाडौं । भारतस्थित छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माएको आरोपमा एक प्रहरी हबल्दारलाई निलम्बन गरिएको छ ।

प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आएपछि हबल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

हबल्दारले आफ्नी श्रीमती सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तीसगढ प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ ९१० को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो । यस अन्तर्गत २६ जनवरी २००१ बाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

यसैगरी थप अनुसन्धान गर्दा दुई जना हेड हबल्दारले पनि यो कानून उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ ।