काठमाडौँ । लागुऔषध ओसार–पसार गरेको आरोपमा दुईजना विदेशी सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । ४१ वर्षीय माल्दोभियन नागरिक डेनिस फुकेरेभीलाई ८ किलो ७४० ग्राम चरेशसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) चक्रराज जोशीले रातोपाटीलाई बताए । माल्दोभियन नागरिक असार ३१ मा टर्किस एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीजरल्याण्ड जाँदै थिए ।
गणतन्त्र यमनका नागरिक मोहम्मद याह्य अब्दो मोहम्मद २१ केजी १६० ग्राम लागुऔषध खातसहित पक्राउ परेका छन् । ब्यूरोले झापाबाट भानुभक्त लिङ्देन, रुपन्देहीबाट कमामुद्दिन मुसलमान, वीरगञ्जबाट अनिल सिंह, सिराहबाट विवेक ठाकुर र सत्यानारायण कारकलाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्जबाट रन्जन खान र चादे राई पक्राउ परेका छन् । रन्जन र चादेको साथबाट प्रहरीले २० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
सिरहाबाट पक्राउ गरिएका २० वर्षीय विवेक ठाकुर र सत्यनारायणको साथबाट ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । प्रहरीले वीरगञ्जबाट पक्राउ परेका २० वर्षीय अनिल सिंहको साथबाट १४ सय ७० थान नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ । झापाको शिवसताक्षी नगरपालिका घर भएका ४५ वर्षीय भानुभक्त लिङ्देनको साथबाट ३२ ग्राम र नाइट्रोभेट ट्याब्लेट ९ थान बरामद गरिएको एसपी जोशीले जानकारी दिए । ३५ वर्षीय कमामुद्दिनको साथबाट नाइट्राभेट, स्पास्मो २ सय क्याप्सुल र कोरेक्स २ लिटर बरामद गरिएको छ ।
Add Comment