काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय मनमैजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्त भोला दाहालले आइतबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएका छन् । दाहालका अनुसार उनीहरूलाई सेवाग्राहीसँग १ लाख ७५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारले घुससहित पक्राउ गरेको थियो ।
उपरकोटी र कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
दाहालका अनुसार नापी सर्भेक्षक उपरकोटीविरुद्ध १ लाख ७५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । अख्तियारले उनीविरुद्ध बिगोबमोजिम जरिवाना तथा कैद सजायको समेत माग गरेको छ ।
त्यस्तै लेखापढी व्यवसायी कार्कीविरुद्ध पनि अख्तियारले १ लाख ७५ हजार बिगो कायम गरेको छ । उनीविरुद्ध पनि बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।
Add Comment