भुईंमा लत्रिएको बिजुलीको तारले करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । अलपत्र अवस्थामा भुईंमा लत्रिएको बिजुलीको तारले करेन्ट लागेर नवलपरासी पूर्वमा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकामा आइतबार साँझ गोठालो गएर फर्किने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोठालो गएर फर्किंदै गरेका स्थानीय मनवीर सोमैको आइतबार साँझ बिजुलीको तारमा परेर मृत्यु भएको हो । उनी ७४ वर्षका थिए । मध्यविन्दु नगरपालिकाको वडा नम्बर १३ र १४ को सिमानामा पर्ने गोरेभन्ज्याङमा भुईंमा लत्रिएको तारमा परेका सोमैको घटनास्थामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण कावासोतीका प्रमुख अमितकुमार कर्णले भित्री बाटोमा तार चुँडेका कारण दुर्घटना भएको दाबी गरे ।’ त्यति मान्छे नहिँड्ने भित्री बाटोमा तार चुँडेको थियो । आइतबार नै त्यहाँ करेन्ट छोडिएको थियो । त्यतिबेलै करेन्ट प्रवाह भएको तार चुँडेको रहेछ कसैले जानकारी गराएनन्,’ उनले भने । प्राधिकरणको नियमअनुसार करेन्ट लागेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने पनि उनले बताए