अस्पतालहरूले निस्शुल्क शय्या उपलब्ध गराउन थालेकोले गरिब, विपन्नहरुले उपचार नपाएर मर्न पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले निस्शुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन्।

‘केही अस्पतालमा आर्थिक भार पर्न सक्छ, त्यसो भए स्वास्थ्य मन्त्रालयले ब्यहोर्छ,’ उनले भने, ‘गरिब र विपन्न भएकोले कसैले अब उपचार नपाएर मर्न पर्दैन।’

वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, शहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या निस्शुल्क उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ छ।

‘अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या निस्शुल्क उपलब्ध गराउने सहमति गरेका छन्, त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निस्शुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्,’ सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले भने।

२२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र अन्य जिल्लाले वडाको सिफारिस देखाएर अस्पतालहरूमा निस्शुल्क शय्या सुविधा लिन सक्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाइ छ।

‘निस्शुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाई चल्न दिनौं, नवीकरण पनि हुँदैन,’ उनले भने, ‘कुनै अस्पतालले कार्यान्वयन गरेनन् भने खबर गर्नुहोला। म पनि अस्पतालहरू अनुगमन गर्दैछु।’

स्वास्थ्यमन्त्री बस्नेतका अनुसार थप संघीय सरकार मातहत रहेका अस्पतालमा पनि निस्शुल्क शैय्या उपलब्ध गराउनेबारे छलफल भइरहेको र प्रदेश सरकार मातहत अस्पतालमा पनि यो सेवाका सुरू गर्नेबारे छलफल अघि बढेको छ।