मलेसियाविरुद्ध नेपालको आक्रामक बलिङ, ५ रन बनाउँदा लियो ३ विकेट

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध नेपालले सानदार बलिङ सुरुवात गरेको छ । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कप्तान अभिषेक तिवारीले घातक बलिङ गरेका छन् ।

उनले मलेसियाले ५ रन बनाउँदा महत्वपूर्ण ३ विकेट लिइसकेका छन् । अभिषेकले मोहम्मद अस्कल (०), कप्तान मोहम्मद अलिफ (२) र हमजाह पङ्गीलाई शून्यमै आउट गरे । उनले तीनै ब्याटरलाई क्लिन बोल्ड गरे । अभिषेकले तीन ओभर बलिङ गर्दा ३ रन दिएर ३ विकेट लिएका हुन् ।

त्यसअघि बायुएमास ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको मद्दतमा अविजित ११२ रन बनाए । उनले ८२ बलमै शतक पूरा गरेका थिए ।

जारी प्रतियोगितामा शतक बनाउने नरेन पहिलो नेपाली ब्याटर हुन् । यस्तै, निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दीपु कुमारले ५, कप्तान अभिषेक तिवारीले ४, आशिष लुहारले २ र प्रतीक भट्टराईले १ रन जोडे ।

मलेसियाका लागि मोहम्मद अकरमले ७ ओभरमा ४५ रन दिएर ३ विकेट लिए । नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको थियो । यस्तै, मलेसियाले सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो ।

हालसम्म दुईपटक उपाधि जितिसकेको नेपाल आज पनि च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपालले पछिल्लोपटक २०१९ मा थाइल्याण्डमा भएको यू–१६ इष्ट जोन कपको फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।