ललिता निवास प्रकरण : पक्राउ परेका तीन अभियुक्तले दिएको रिट निवेदनको सुनुवाई न्यायाधीश भट्टराई र फुयालको इजलासमा

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाई न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा परेको छ ।

बुधवार मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रवार भएको सुनुवाईमा अदालतले कारण देखाउन आदेश दिएको थियो। आज दुई पक्षको बहसपछि अदालतले रिहा गर्ने वा थुनामा नै राखेर अनुसन्धान अगाडि बढाउने भन्नेमा आदेश दिनेछ।

उनीहरुले हदम्याद नाघेको विषयमा प्रहरीले पक्राउ गरेको भन्दै रिट निवेदन दिएका हुन्।

ललिता निवास प्रकरणमा प्रहरीले गत मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की लगायत सात जनालाइ प्रहरीले पक्राउ गरेको थियो। जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले रिहा गरिसकेको छ। स्टे अर्डरु लिएको आधारमा उनीहरु छुटेका हुन्।

उनीहरु विरुद्ध प्रहरीले बुधवार जिल्ला अदालतबाट सात दिन हिरासत राख्ने अनुमति पाएको थियो। ललिता निवास प्रकरणमा प्रहरीले ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। जसमा जग्गा फिर्ता गरेका २ सय ९ जनाविरुद्ध पक्राउपूर्जी रहेको छ। पक्राउ पर्नेको सङ्ख्या ८ पुगेको छ।