पाँच वर्ष सम्म सत्ता फेरबदल हुने क्रम चलिरहनेछ : रवि लामिछाने

फाईल तस्बिर

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको समेत जिकिर गरे । ‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौँ,’ धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग लामिछानेले भने, ‘अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौँ । सत्ता फेरबदलबारे सुनेपनि म न कुनै बैठकमा गएको छु, न कुनै नै चासो राखेको छु । कुनै पनि क्रियाकलापमा सहभागी छैनौं ।’

अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनले बताए । ‘यो बजेटलाई कसले स्वागत गरेको देख्नुभयो न साना व्यवसायीको पक्षमा छ, न लघुुवित्त पीडितको पक्षमा छ,’ उनले भने, ‘यसमा त्रुटी छ । सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर सच्याउनुपर्छ । केही समय हामी हेर्छौं ।’