काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा उपमेयर यादवलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उनीहरुविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका छन् ।
कृष्णकुमारको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न मानेको थिएन । त्यसपछि उनी उच्च अदालत जनकपुरको राजविराज इजलास पुगे । अदालतले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सोही मुद्दामा उपमेयर यादव पक्राउ परेकी हुन् । उनका श्रीमान महेन्द्र अझै फरार छन् ।
उपमेयर यादव दम्पती भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र सप्तरीकै तत्कालिन औरही गाविस ३ बाट फर्जी कागजातकै आधारमा नागरिकता लिएको आरोप उजुरीमा लगाएको छ ।
Add Comment