कोशी प्रदेश लफडा, सभामुख गौतम भन्छन् : राजीनामा दिने परिस्थिति आए मेरो इच्छाले नै राजीनामा दिन्छु

काठमाडौं ।  कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफुले राजीनामा दिने परिस्थिति आए सजिलै राजीनामा दिने बताएका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन छुट्टै हस्ताक्षर गरेर विवादमा तानिए पछि उनले यस्तो बताएका हुन् ।

बिहीवार थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा बहुमत पुर्‍याउन सभामुख गौतमले छुट्टै हस्ताक्षर गरेका थिए ।​

उनीविरुद्ध नेकपा एमालेसहित विपक्षी गठबन्धनले अदालत जाने तयारी गरेको छ । सभामुख गौतमले भने आफूले गलत नगरेको बताए दाबी गरेका छन् । प्रधानमन्त्री तथा मुख्यमन्त्री बनाउन अन्यत्र पनि सभामुखले हस्ताक्षर गर्ने गरेको भन्दै उनले आफ्नो बचाउ गरे । हस्ताक्षर गरेका फाइलहरू अहिले पनि राष्ट्रपति कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा खोज्दा भेटिने उनको दाबी छ ।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले अन्तिम समयमा मात्रै आफूले हस्ताक्षर गरेको बताए। ‘मेरो नाम जान्छ भन्नेमा म ढुक्क थिएँ । दलका नेताले हस्ताक्षर गर्ने कुरामा तयार थिइनँ । तर अन्तिम अवस्थामा निकास नदिई नहुने भएकोले हस्ताक्षर गरेको हुँ,’ उनले भने ‘कसैले दबाब दिएर नभई आफैंले निकास दिनका लागि हस्ताक्षर गरेको हुँ ।’

विपक्षीहरूले अदालत जाने तयारी गरिरहँदा गौतमले भने आवश्यक परे राजीनामासम्म दिन सक्ने संकेत गरेका छन् ।

सभामुख गौतमले राजीनामा दिने परिस्थिति आए आफू तयार रहेको  बताए ।  ‘अहिलेको अवस्था ४६/४६ को हो । यस्तो अवस्थामा सरकार पनि टिक्दैन र सभामुख पनि त्यही रहने अवस्था आउँदैन । यसको निकास त निक्लिनुपर्छ,’ उनले भने, ‘सरकारले सभामा ल्याएका ऐन , नियमावली विधेयकहरूमा बहुमत सिद्ध गर्न आवश्यक हुन्छ । सरकारले बहुमत पुर्‍याउन बल गर्छ । सभामुखले प्रत्येक पटक त्यसमा सहयोग गर्नेरनगर्ने भन्ने कुरा आउँछन् । यदि त्यो अवस्था आइरह्यो भने त्यति बेला दबाबमा होइन कि मेरो इच्छाले नै राजीनामा आउन सक्छ ।’

सभामुखको कदमको विरोध गर्दै एमालेसहित विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ ।

संसदीय इतिहास भनेको पक्ष विपक्षको भएकाले आफू पदमा रहेसम्म निष्पक्ष हुने बताएका छन् । ‘म पदमा रहेसम्म निष्पक्ष काम गर्छु । यदि सकिनँ भने पदमा बसिरहनु पर्छ भन्ने छैन,’ उनले भने । सरकार बनाउन सभामुख पद दाउमा नराखेको उनले दाबी गरे ।