स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दै, के एमालेले चल्न देला त ?

काठमाडौं । एमाले अवरोधका कारण आइतबार स्थगित प्रतिनिधि सभाको बैठक आज (सोमबार) का लागि तय गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिनेछन्।

सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ।

यसैगरी आज प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् भने उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मा दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्।

यसैगरी आजकै बैठकमा मन्त्री गुरुङले नै ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मा प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नेछन् भने यसपश्चात् उक्त विधेयक पारितको प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

तर आज पनि एमालेले प्रतिनिधि सभाको बैठक चल्न नदिने सम्भावना छ। किनकि उसले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो अडान कायमै रहेको जनाएको छ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद् खुलाउनेबारे छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर संसद्‌मा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि एमाले अध्यक्ष ओली प्रतिनिधि सभाको बैठक चल्न दिनेमा सहमत भएका थिए।

तर त्यसको केही बेरपछि नै एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिसमेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेपछि बैठक आजसम्मका लागि स्थगन गरिएको थियो।