म आजबाट अपराधी, जय होस् यो देशको – बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर वालेन्द्र साह (बालेन) ले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालहरुमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर साहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।

उनले आफू आजबाट अपराधी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने छुट पाएको उल्लेख गरेका छन् । उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा प्रचण्डले छुट पाएको र आफू भने अपराधी भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको ।”

बालेनले भारतले बनाएको चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनेर प्रस्तुत गरिएपछि उनले काठमाडौँ महानगरभित्र हिन्दी चलचित्र चलाउन नै प्रतिबन्ध लगाएका थिए । त्यसविरुद्ध हलवालाहरुले उजुरी गरेपछि अहिले उनले तारिख धाउन थालेका छन् ।