अवैध संरचनामा पोखरा महानगरले चलायो डोजर

काठमाडौं । सडक विभाग अन्तर्गत बन्न लागेको ‘पोखरा—मुग्लिन चार लेनको सडक’को पोखरा खण्डमा बनेका अवैध संरचना हटाउने काम सुरु भएको छ । सोमबार स्थानीय सरकार पोखरा महानगरपालिकाको सहयोगमा मापदण्ड भित्र परेको संरचनामा डोजर चलाइएको हो । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने उक्त खण्डमा एसियाली विकास बैंकको सहयोगमा मुग्लिन–पोखराको झन्डै ९३ किलोमिटर सडक विस्तार हुने क्रममा छ ।

उक्त सडक खण्ड विस्तार हुने क्रममा पोखरा महानगरपालिकाले पहिलो चरणमा पृथ्वीचोकदेखि चाउथेसम्म बनेका अवैध संरचना हटाउन सुरु गरेको मेयर धनराज आचार्यले बताए । महानगरपालिकाले सडकको मापदण्डभित्र रहेका संरचना तथा सामग्रीहरू हटाउने र सरसफाइ गर्ने अभियान थालेको हो । सोमबार पहिलो चरणमा पोखरा रंगशालाबाट राजमार्गको मापदण्डमा पर्ने संरचना भत्काउन सुरु गरिएको

पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ ९२३ मिटर० मापदण्डभित्र परेका संरचना हटाउन हटाउन सुरु गरिएको मेयर आचार्यले सुनाए । सबै मलेर पोखरा–मुग्लिन सडक निर्माणमा सक्दो सहयोग गर्न मेयर आचार्यले अपिल गरेका छन् । ‘आजबाट अवैध संरचना हटाउन काम सुरु भएको छ । यसअघि नै हामीहरुले ३५ दिने पूर्व जानकारी दिने र मार्किङ गर्ने काम गरेका थियौं । पटक पटकको सूचना तथा महानगरको आग्रहलाई अटेर गरेको पाइएकाले यसलाई अभियानका रूपमा हटाउनु परेको हो,’ मेयर आचार्यले भने । निर्माण भएका पक्की संरचनामा महानगरले साङ्केतिक रूपमा भत्काएर अल्टिमेटम दिएको छ । भने अस्थायी टहरामा महानगरले डोजर चलाएको हो ।

पोखरा–मुग्लिङ सडकको सहयोगदाता एडिबीको टोली २७ गते उक्त खण्डमा अनुगमनमा आउने कार्यक्रम रहेको मेयर आचार्यले बताए । ‘एडिबीको टोली आउनु अघि नै हामी तयारी भएनौँ भने निर्णय अन्यथा पनि हुन सक्छ, त्यसैले सबै मिलेर विकास निर्माणलाई सहजताका साथ अगाडि बढाउन राजमार्ग अन्तर्गतका अवैध संरचनामा डोजर लगाइएको हौं,’ मेयर आचार्यले भने । उक्त खण्डमा परेका १६ वटा घरलाई क्षतिपूर्तिसहित भत्काइने सडक विभागले जनाएको छ । तर, मापदण्ड भित्र परेको संरचनामा भने आयोजनाले कुनै पनि क्षतिपूर्ति दिनेछैन् । विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुङ्गिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने मेयर आचार्यले बताए ।