वन अधिकृतले गरे कानुन विपरीत १५ लाख भुक्तानी

काठमाडौं । डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्धा एक परामर्शदातालाई १५ लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ ।

डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईंको आन्तरिक मिलेमतोमा आफन्त नाता पर्नेको फर्मलाई बिना प्रतिस्पर्धा १५ लाख भुक्तानी गरेको पाइएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष। २०७९/८० को वार्षिक कार्यक्रम अनुसार डिभिजन वन अधिकृत कुमाईंले जटामसी९भुल्ते० हानी नोक्सानी सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न महेन्द्र खत्री प्रोप्राइटर रहेको हाम्मा माटो प्राली सामाखुसी काठमाडौँलाई भुक्तानी गरेका हुन् । वन अधिकृत कुमाईं ०७९ असोजमा सरुवा भई निमित्त वन अधिकृतको रूपमा डोल्पा आएका थिए ।

०७९ पुस १३ दर्ता भएको काठमाडौँ महानगरपालिका वडा नम्बर २६ सामाखुसी ठेगाना भएको जुम्लाकै बासिन्दा महेन्द्र खत्री प्रोप्राइटर रहेको हाम्मो माटो प्राइभेट लिमिटेड स्थायी लेखा नम्बर ६०९८२९१३४ को नाममा ०८० असार २० गते कर कट्टी गरेर १४ लाख ४० हजार ७५० भुक्तानी गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ ।

परामर्शदाता छनौट गर्नु पूर्व राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी प्रस्तावना माग गर्नु पर्छ । तर सार्वजनिक सूचना नै प्रकाशित नगरी आन्तरिक मिलेमतोमा कार्यालयमै सामान्य सूचना टाँस गरेको जस्तो प्रक्रिया मिलाई परामर्शदाताको प्रस्तावना माग तथा छनौट समेत वन अधिकृत कुमाईंको सेटिङमा भएको खुलेको छ ।

स्रोतका अनुसार रेन्जर कमल रावल संयोजक भीम लम्साल सहायक स्तर पाँचौँ र कमल बोहरा फरेष्टर सदस्य रहेको तीन सदस्य मूल्याङ्कन समितिले प्राविधिक प्रस्तावहरूको प्राविधिक मुल्यांङ्कन गरेको हो ।

आन्तरिक सेटिङमा एकद्धार प्रणाली मार्फत पेस भएका हाम्मो माटो प्रालि सामाखुसी २६ काठमाडौँ ६२ सृजना केसी प्रोप्राइटर रहेको हिमालयन बहु सेवा प्राली कोहलपुर ३ बाँके ५३।३४ र सुन्दर शर्मा प्रोप्राइटर रहेको डिजि फाउण्डेसेन प्रा‍‍‍।ली। रुकुम पश्चिम ५ मुसिकोटलाई ५३ अंकभार प्राप्त गरेको बनाई बढी अंकभार ल्याएको बनाइएको हाम्मो माटो प्रालीलाई उत्कृष्ट छनौट गरी परामर्शदाता छनौट गरिएको पाइएको छ ।

परामर्शदाता छनौट भई भुक्तानी गरिएको हाम्मो माटो प्रा।ली। सामाखुसीको व्यवसाय कारोबार दर्ता प्रमाण पत्रमा तरकारी खरबुजा कन्दमूल उत्पादन उष्ण र समशीतोष्ण फल उत्पादन लगायत उत्पादित बालीलाई बजारमा लैजान गरिने प्रारम्भिक कार्य सफाइ ग्रेडिङ काँटछाँट गर्ने काम लगायत बनसम्बन्धी क्रियाकलाप भन्ने उल्लेख गरिए पनि विशेषज्ञ मार्फत बनपैदावर तथा जडीबुटीको अध्ययन अनुसन्धान गरिने उल्लेख छैन ।

परामर्शदाता प्रस्ताव माग गर्ने निर्णय देखि मुल्यांङकन समिति निर्माण र छनौटमा वन अधिकृत कुमाईं प्रत्यक्ष संलग्न भएको स्रोतको दाबी छ । त्यस्तै गरी वृक्षारोपण तयार तथा योजना कार्यान्वयन शीर्षकमा पाँचलाख रुपिंया निमित्त वन अधिकृत कुमाईंले नक्कली कागजात मिलाएर भुक्तानी गरेको समेत वन स्रोतले बताएको छ ।

योजना छनौट गर्दा सार्वजनिक सूचना प्रकाशित गर्नु पर्नेमा नगरी फर्म तथा संस्थासँग मिलेमतो गरी भुक्तानी गरेको स्रोतको दाबी छ ।निमित्त वन अधिकृत महेश कुमाईंले आफूले सार्वजनिक सूचना प्रशासित नगरी सामान्य सूचनाको आधारमा परामर्शदाता छनौट गरी भुक्तानी गर्नु गलत भएको स्विकार गरे ।

तर कार्यविधि अनुसार नै आफूले काम गरेको र परामर्शदाता प्रस्तावना माग गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रशासित गर्नु पर्ने उल्लेख नभएको वन अधिकृत कुमाईंको भनाई छ । हाम्मो माटो प्रा।ली। प्रोप्राइटर खत्री र वन अधिकृत कुमाईं एकै ठाउँका बासिन्दा हुनुले आन्तरिक सेटिङलाई थप बल पुर्‍याएको हुनु पर्छ ।

डिभिजन वन कार्यालयमा आर्थिक अनियमितताको यो प्रतिनिधिमूलक घटना मात्र हो ।लाखौँ रकम वन अधिकृतको मिलेमतोमा भुक्तानी हुने गर्छ । आर्थिक वर्ष सकिने असार मसान्तमा वन कार्यालय मात्र नभई जिल्लास्थित विकासे कार्यालयमा कामै नभएका योजनाको भुक्तानी मिलेमतोमा हुने गरेको गुनासो जनस्तरबाट आउने क्रम रोकिएको छैन ।

गोरखापत्र