बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ

काठमाडौँ । बहुविवाह मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको छ। जिल्ला अदालत बझाङको २३ फागुन २०७० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका–३ बस्ने ३४ वर्षीय राजेन्द्रबहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौंका २७ वर्षीया राधिका खड्का छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका–९ देवलबाट पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला अदालत बझाङमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ।