भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारमा मुछिएका दोषी कोहीलाई पनि उम्कन दिन नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने कार्य गरेको भन्दै उनले प्रशंसा गरे । ‘ नेपालले भने, ‘म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं । यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।’

आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको बताउँदै उनले भने, ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो रु सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।’

ललिता निवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ,’ उनले भने ।

कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको मत छ । नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

वर्तमान सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने पनि बताए । कांग्रेस, माओवादी, समाजवादीसहितका अन्य दलहरुसँगको छलफलबाट सरकारको स्थायित्वको लागि गठबन्धन कायम गरी काम गर्ने सहमति भएको जानकारी गराए ।

सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको उल्लेख गर्दै उनले समाजवादी मोर्चामार्फत विचार मिल्ने पार्टीहरु एकठाउँमा आउँदा कोही पनि त्रसित हुनु नपर्ने बताए ।