बजेट यथार्थ परक छ, सुदूरपश्चिम विकासको लागि आधार बन्नेछ : नरेशबहादुर शाही

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले आफूले प्रस्तुत गरेको बजेट प्रदेशको विकास र समृद्धिमा केन्द्रित रहेको दाबी गरेका छन् ।

असार १ गते आएको बजेट माथिको छलफल सुरु गर्न प्रस्ताव पेश गर्दै अर्थमन्त्री शाहीले बजेटले नयाँ आधार तय गर्ने विश्वास व्यक्त गरेका थिए ।

‘सुदूरपश्चिम विकासको लागि एउटा आधार बन्ने छ । यो बजेटले अरू बजेट सिर्जना गर्ने गरी बजेट बनाइएको छ ’, उनले भने , ‘उद्यम विकासका विषयहरू छन् । उत्पादन र रोजगारीको विषयहरू राखिएका छन् । यो बजेट यथार्थ परक छ । ’

अर्थमन्त्री शाहीले आगामी विकसित यात्राको लागि, नयाँ र सुन्दर गन्तव्यमा पुग्नका लागि बजेटले आधार तयार गर्ने बताए । उनले आकारका हिसाबले बजेट सानो भएपनि त्यसमा समेटिएका योजनाहरू महत्त्वपूर्ण रहेको दाबी गरे । साथै उनले सबै योजनाहरू समेट्न नसकेको स्वीकार गरेका हुन् ।