रक्षा मन्त्रीका सम्धीलाई अध्यक्ष बनाउने कुरा नमिल्दा राष्ट्रिय वाणिज्य बैंकको बैठक स्थगित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको बुधबार बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ । बुधबारको सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहेका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठक नै स्थगित भएको छ । मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहेका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा भ्रष्टाचारको गरेको आरोप लागेको थियो ।

कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै सोमबारदेखि चर्को विरोध भइरहेको छ । उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउन सरकारले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाएको छ ।