काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३ दिनसम्म शोकमा बस्ने भएका छन् । ३० गतेबाट मात्र उनी नियमित काममा फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले ३ दिनसम्म प्रधानमन्त्री निवासमै रहने जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू ३० गतेपछि पूर्ववत सक्रिय हुनुहुनेछ’, उनले भने ।
प्रधानमन्त्री पत्नी सीता दाहालको हिजो नर्भिक अस्पतालमा निधन भएको थियो । उनको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । हिन्दू संस्कारअनुसार नै दाहसंस्कार गरिएको हो । अन्य काजक्रिया भने नगरिने भएको छ । प्रधानमन्त्रीको परिवारमा कसैले पनि नून बारेका छैनन् । प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालले हिन्दू संस्कारमा हुने १३ दिनको काजक्रिया नगरिने बताए ।
‘उहाँ भोलिसम्म ३ दिन शोकमा बस्नुहुन्छ, तर हिन्दू संस्कारको काजक्रिया गरिएको छैन’, उनले भने ।
यसअघि प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा पनि काजक्रिया गरिएको थिएन । भाइ दाहालले भने, ‘जस्तो प्रकाशको बेलामा गरिएको थियो, अहिले पनि त्यही नै हुने हो ।’
कम्युनिष्टले धर्म नमान्ने भएकाले प्रचण्ड परिवारले सीताको काजक्रिया नगर्ने भएको हो । बरु सातौं दिनमा एउटा शोकसभा राख्ने तयारी गरिएको दाहालले जानकारी दिए ।
‘निश्चित भइसकेको छैन, तर सातौं दिनमा शोकसभा राख्ने तयारी चाहिँ छ’, उनले भने ।
बालुवाटारमा आज बिहानैदेखि बाक्लो संख्यामा आगन्तुकहरु श्रद्धान्जली तथा समवेदनाका लागि आइरहेका छन् । सीतालाई लिखित श्रद्धाञ्जली दिन शोकपुस्तिका राखिएको छ । भेट्न आउनेहरुका लागि बिहान आठ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म समय छुट्याइएको थियो । माओवादीका अधिकांस नेताहरु आज बालुवाटार उपस्थित भएका थिए ।
यस्तै कूटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि आएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । आगन्तुकहरुका लागि छुट्याइएको समयमा प्रधानमन्त्री तथा छोरीहरु बाहिर बसेर भेटघाट गर्ने गरेका छन् ।
Add Comment