उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् । संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले निर्णय गर्ने र सरकार र तथा दलहरुले निर्णय कार्यान्वयन गराउने भएपनि नेपालमा उल्टो भएको उनीहरुको भनाई छ ।

बरिष्ठ चिकित्सक डा. अरुण कुमार सिंहले पोखरेल नेतृत्वको समितिले निर्णय गर्ने व्यवस्था हुनु नै गलत भएको दावी गरे । “पोखरेलजीको कमिटि साईन्टीफिक छैन, विज्ञहरुको साइन्टीफिक कमिटि बनाउनु पर्छ, त्यसले निर्णय गर्नुपर्छ र कार्यान्वयन गर्ने निकायहरुले कार्यान्वयन गर्नुपर्छ,” सञ्चार माध्यमसँग उनले भने ।

उनले अन्य देशहरुमा विज्ञहरुको उच्चस्तरीय टोली बनेको, त्यसले निर्णय गर्ने गरेको र कार्यान्वयनका लागि विपक्षी दलसहितको समिति बनाइएको जानकारी पनि दिए ।

कोरोनाभाइरसको महामारीले सवैलाई उत्तिकै असर पारेकाले नियन्त्रण गर्ने जिम्मेबारी पनि सवैको भएको बताउदै उनले सरकारले प्रतिपक्षलाई सँगसगै लिएर जानुपर्नेमा जोड दिए ।

“कोरोनाबाट काँग्रेस मात्र मरेका छैनन, कम्युनिष्टहरु पनि मरेका छन्, त्यसैले प्रधानमन्त्रीले अहंता त्याग्नुपर्योे ,” डा सिंहले भने ।
प्रधानमन्त्रीको अहंताकै कारणले तयारीका लागि नेपालले पर्याप्त समय पाएर पनि केही नगरेको उनले आरोप लगाए
उनले स्थीतिलाई नियन्त्रणमा राख्नका लागि आफुले पनि धेरै योजना बनाएको जानकारी दिदै केन्द्रीय स्तरमा २५ हजार शैया, हरेक प्रदेशमा पाँच हजार र हरेक निर्वाचन क्षेत्रमा पाँच सय शैया कोरोना सङ्क्रमितका लागि तत्काल बनाउन सुझाव दिए ।

चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको अभाव रहेको भन्ने सरकारी भनाईको खण्डन गर्दै उनले नेपालमा पर्याप्त स्वास्थ्यकर्मीहरु रहेको दावी गरे ।

उनले मेडिकल काउन्सीलका अनुसार २६ हजारभन्दा बढी चिकित्सक नेपालमा रहेको र ती मध्ये झण्डै दुई सय जनाले मात्रै अहिले कोरोनाका लागि काम गरेको बताए ।

काउन्सीलमा दर्ता भएका सवैलाई परिचालन गर्न सकिने, मेडिकल कलेजमा पढ्दै गरेका र नर्सिङ कलेजमा पढ्दै गरेकालाई पनि १०÷१५ दिनको तालिम दिएर उपचारमा पूर्ण रुपमा खटाउन सकिने डा. सिंहको भनाई छ ।

उनले झण्डै ३० हजार चिकित्सकहरुलाई परिचालन गर्न सकिने र उनीहरुले स्थीतिलाई नियन्त्रणमा लिनसक्ने दावी पनि गरे ।
ललितपुरको सर्वाङ्ग अस्पतालमा कार्यरत कलेजो सम्वन्धी रोगका विशेषज्ञडा। सिंहले नेपालमा अहिले कमजोर पद्धतीबाट कोरोनाको उपचार भइरहेकाले निको हुने दर कम भएको जानकारी दिए ।

महामारीको मौकामा चरम ठगी भइरहेको बताउदै उनले त्यस्तालाई प्रधानमन्त्रीले नजोगाए कस्ले जोगाएको छ त भनेर प्रतिप्रश्न पनि गरे ।