पुजारी हत्याको विरोध रोक्न गृहको गोप्य सर्कुलर

काठमाडौँ । गृह मन्त्रालयले रौतहटको हनुमान मन्दिरका पुजारी हत्या प्रकरणको विरोधमा हुने प्रदर्शन रोक्न प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ। अज्ञात समूहले भदौ ३ गते राति गोली प्रहार गरी ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या गरेको थियो।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट भदौ ७ गते पठाइएको पत्रमा अपरिचित समूहले गोली प्रहार गरी हत्या गरेको घटना सन्दर्भलाई लिएर विभिन्न हिन्दूवादी समूहहरूले घटनामा संलग्न व्यक्तिहरुलाई अविलम्ब पत्ता लगाई कडा कानूनी कारबाही गरिनुपर्ने माग गर्दै विरोध सूरु भएकाले रोक्न निर्देशन दिइएको हो।

शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरी पठाइएको पत्रमा नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ।

गोप्य पत्रमा भनिएको छ, ‘घटनाको विषयलाई लिएर ताहाँ जिल्लाहरुमा हुन सक्ने अवाञ्छित गतिविधिहरु हुनरगर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरितका कार्य भएरगरेको पाइएमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ।’

पत्रमा घोराही उप(म।न।पा।(१५ स्थित तुलसीपुर चोकमा स्वतन्त्र युवा समूहको नामबाट हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भई रहेको रौतहटमा पुजारी हत्या नियोजित रुपमा भएको भन्दै विरोध प्रदर्शन गरेको, दीप प्रज्वलन गरेको, सुनसरी जिल्ला प्रशासन कार्यालयमा बृहत सनातन महासङ्घका केन्द्रीय संयोजक श्री निवाशाचार्य समेत १५र२० जनाको समूहले हिन्दु धर्म गुरुहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, रौतहटमा पुजारीको हत्या घटनामा संलग्नहरुमाथि कडा कारवाही गरिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने, धर्म निरपेक्षता खारेज गरिनुपर्ने समेतका माग राखी ज्ञापन(पत्र प्रस्तुत गरेको भन्ने सूचना प्राप्त भएकोले अवाञ्छित गतिविधिहरु गर्न नदिनू र संलग्नहरुलाई कानूनी दायरामा ल्याउनू भनिएको छ।

पत्र सार्वजनिक भएसँगै सामाजिक संजाल तथा स्थानीयस्तरमा गृहमन्त्रालयको निर्देशनप्रति विरोध सुरु भएको छ। उनीहरु घटनाका दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्।

साहले रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलनजिकै सार्वजनिक जग्गामा हनुमान मन्दिर बनाएर पूजाअर्चना गर्दै आएका थिए। उनले त्यही मन्दिरमा पाएको दान र भिक्षाबाट छाक टार्दै आएका थिए। उनी बुधबार राति ९ बजेतिर मन्दिरछेउ रहेको छाप्रो अगाडि खुला स्थानमा बसेर रोटी खाइरहेका थिए। त्यहीबेला उनको टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा कचौरामा रोटी, तरकारी र भुइँमा सानो कागजमा नुन र एक लोटा पानी भेटिएको थियो।

मृतक पुजारी श्रीमती बितेपछि एक्लै बस्दै आएका थिए। उनका छोराछोरी छैनन्। उनकै पहलमा उक्त मन्दिर २०७६ जेठमा निर्माण गरिएको स्थानीयको भनाइ छ। पुजारीको स्वभाव सीधासादा र कोहीसँग नरिसाउने रहेको माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्र्रसाद यादवले बताए। ‘पुजारीसँग कोही कसैको विवाद, झगडा भएको थाहा छैन’, मेयर यादवले भने, ‘मदिरा खाएका कोही कसैले हत्या गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ।’बस्तीभन्दा करिब आधा किलोमिटर टाढा बाटोछेउ मन्दिर छ। बाटो किनारमा मन्दिर र छेउमा पुजारी बस्ने फुसको सानो छाप्रो छ।