अध्यागमनले फर्काएका मध्ये ९ जना पुरानै कागजातमा कुवेत उडे

काठमाडौं । अध्यागमनले बुधबार बेलुका कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ९ जना पुरानै कागजातको आधारमा कुवेत गएका छन् ।

वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनालाई कागजातमा शंका लागेको भन्दै अध्यागमन विभागले फर्काएको थियो । तीमध्ये ८ जना महिला र १ जना पुरुष आज बिहान गएका हुन् ।

गन्तव्य मुलुकको सम्बन्धित कम्पनीले नै ती कामदारका लागि प्लेन टिकट काटिदिएको थियो । करिब ६० हजार पर्ने टिकटसमेत नोक्सान भएको साथै अब कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उनका अनुसार आज बिहान गत बुधबार अध्यागमनले रोकेका ९ जना कुवेत गएको बताए ।

उनले भने, ‘भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि कर्मचारीले रोकेका थिए । अध्यागमनले रोकेको विषयमा हामीले गृह र श्रम मन्त्रीसँग छलफल गरिरहेका छौं ।’

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई उड्न एयरपोर्ट पुगेका श्रमिकलाई अध्यागमनका कर्मचारीले अनावश्यक दुस्ख दिने, कानूनविपरीतको गलत सूचना दिने गरेको भन्दै उनीहरूलाई कारबाही गरी फर्काइएका कामदारलाई सहजरूपमा पठाउन सहयोगका लागि वैदेशिक रोजगार व्यवसायीले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

ताजा अपडेट