सरकारले समयमै सचेतता अपनाएको भए लम्पी स्कीन प्रकोपबाट क्षति बेहोर्नुपर्ने थिएन : प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले समयमै सचेतता अपनाएको भए लम्पी स्कीन प्रकोपबाट ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउने थिएन भन्दै प्रश्न गरेका छन् ।

गत फागुनको अन्तिम सातादेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताएका हुन ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरीले विपन्न किसानहरुमा यो प्रकोपबाट ३७ अर्ब हाराहारीको क्षति हुँदापनि त्यसलाई सरकारले गम्भीरताका साथ नलिएको बताए । सरकारले प्रभावकारी ढंगले खोप तथा उपचार सेवा वितरण बताउँदै उनले किसानहरुले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको बताए ।

प्रमुख सचेतक गिरीले भने,‘सरकारले समयमै सचेतता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् कि यही स्थिति रहिरहने हो भने निकट भविष्यमा थप २५ लाख पशुचौपाया संक्रमित हुनेछन् र १ लाख बढी पशु चौपाया मर्ने स्थिति बन्नेछ । त्यसबाट किसानले ठूलो क्षति बेहोर्नुपर्छ भनेर विज्ञहरुले भनिरहेका छन्, तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ । खोप अत्यन्तै अप्रयाप्त छ र लगाउने गतिपनि अत्यन्तै सुस्त छ ।’

उनले गाउँमा खोप, औषधी र प्राविधकहरुलाई सरकारले नपठाएको भन्दै ध्यानाकर्षण गराए । किसान पीडाको आहालमा रहेको बताउँदै उनले सरकारसँग पैसा नभएको हो भने निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फतको रकम खर्च गरेर भएपनि लम्पी प्रकोपविरुद्ध कदम चाल्न आग्रह गरे ।