कृषिमन्त्रीलाई साहको प्रश्न–कून कानूनअन्तर्गत कालिमाटी तरकारी बजारको म्याद थप्नुभयो ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले कालिमाटी र बालाजु तरकारी बजारमा कानूनविपरित म्याद थपिएको विषयमा कृषिमन्त्री वेदुराम भुषालसँग जवाफ मागेका छन् । उनले कानूनविपरित म्याद थपेर करोडौंको चलखेल भएका कुरा बाहिर आएको भन्दै त्यस विषयमा सदनमा स्पष्ट पारिनुपर्ने माग गरेका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘कृषि मन्त्रालय मातहतका कालिमाटी र बालाजु तरकारी बजारका सटरहरुको कानूनविपरित म्याद थप्ने काम भएको छ । करोडौंको खेल भएका छन् । अहिले हामी कानूनी शासनको कुरा गर्दछौं । सरकारले सुशासन कायम गरिराखेको भन्छ । कृषिमन्त्रीलाई म सोध्न चाहन्छु–कुन कानून अन्तर्गत कालिमाटी तरकारी बजारको म्याद थप्नुभयो ? समाचारमा करोडौं र अरबौंको चलखेल भएको भनेर लेखेका छन् । त्यो विषयमा यो सदन आश्वस्त हुन चाहन्छ । यो के हो ? यो कुन काण्ड हो ? कृषिमन्त्रीले सदनलाई आश्वस्त गर्नुपर्छ ।’

यस्तै उनले गए राति रौतहटमा पछिल्लो समय हत्या र हिंसाका घट्ना दिनप्रतिदिन घटिरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारसमक्ष माग गरे । उनले भने–‘हिजो एक जना युवकको हत्या भयो । देवाही गोनही नगरपालिका कर्कच निवासी जगन्नाथ साहको हत्या भयो । १२ बजे राति घाँटी रेटेर उनको हत्या भयो । साहको हत्यामा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न गृह प्रशासनसमक्ष जोडदार माग गर्दछु । केही दिनअघि रौतहटमै मौलापुर नगरपालिकामा एक जना किसान, जो खेतमा कोदालो चलाउँदै गर्दा मृत्युवरण गर्न बाध्य भए । स्थानीयहरुले ती किसानको चर्को घामको कारण निधन भएको भनेका छन् ।”

साहले अघि थपे–‘हामी जान्न चाहन्छौं कि असार १५ गते धान रोपाईँमा लागेका नेताज्यूहरु, फेशबुकमा चर्चामा रहने नेताज्यूहरुसँग, किसानको यो मृत्युवरणको बाध्यताबारे कति गम्भीर हुनुहुन्छ रु किसानले खेतमा काम गर्दै गर्दा मृत्युवरण गर्नुपरेको छ, अनि सरकारबाट त्यसलाई केही राहत हुँदैन । परिवारलाई कतैबाट पनि सान्त्वना हुँदैन । त्यो विषय कतै चर्चा पनि हुँदैन । राज्यबाट क्षतिपूर्ति अथवा राहत पाउनुपर्छ भनेर म निर्देशन होस भनेर यो सम्मानित सदनबाट माग गर्दछु । रौतहटमा यो महिनामा मात्रै दर्जनौंले ज्यान गुमाउनु परेको छ । विजुलीको करेन्ट लागेर पनि निधन भएका घटना छन् । विद्युत प्राधिकरणका मान्छे सुतेर बस्ने रु क्षण क्षणमा लाईन कटेको छ। जनताले २४ सै घण्टाको लागि पैसा तिरेका छन् ।’