उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती अस्पताल तनावग्रस्त

काठमाडौं । उपचारका क्रममा बिहीबार बालकको मृत्युपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ ।

क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएपछि आफन्तहरुले स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीले यस्तो भएको भन्द्रै आक्रोशित बन्दै आएका छन् ।

मृतक बालकका आफन्तहरुको आन्दोलनका कारण शुक्रबार प्रतिष्ठान तनावग्रस्त बनेको हो ।

उपचारका लागि मंगलबार साँझ प्रतिष्ठानमा लगिएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन ।

मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् । बिहीबार पनि पीडितले प्रतिष्ठान घेराउ गरेका थिए । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ । प्रहरीले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरिरहेको छ ।

आन्दोलन हिंसात्मक हुन नदिन प्रतिष्ठानमा सुरक्षाा व्यवस्था कडाई गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताए ।

बिहीबार मृतकका परिवार र अस्पतालबीच छलफल भए पनि सहमति हुन सकेको थिएन । आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ । प्रतिष्ठानमा पीडित पक्षको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।