लाइन बसेरै राष्ट्रिय परिचयपत्र बनाए प्रकाशमानले

काठमाडौं । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनु भएको छ । नेता सिंहले काठमाडौं महानगरपालिका वडा न.३० स्थित राष्ट्रिय सभागृह पुगेर अन्य नागरिक सरह नै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका हुन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नागरिकहरुका लागि राष्ट्रिय सभागृहमा रहेको राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रमा फोटो खिच्ने व्यवस्था गरिएको छ ।

सोही अनुरुप काठमाडौं महानगरपालिका वडा नंं १६ चाक्सीबारी बसोबास भएका कारण सिंह तथा उनकी श्रीमती सिर्जना सिंहका साथ छोरा बुहारी समेत सर्वसाधारण सरह लाईन मै बसेर फोटो खिचाएका हुन् ।

अन्य नेताहरुले राष्ट्रिय परिचयपत्र सिंहदबारभित्र गृह मन्त्रालय परिसरमा रहेको राष्ट्रिय पञ्जिकरण विभागमा सहज रुपमा फोटो खिचाउने गरेको भएपनि सिंहले भने आफ्नै स्थानीय तह काठमाडौं महानगरपालिकामा गएर फोटो खिच्न राष्ट्रियसभागृहमा पुगेका थिए । सिंह सर्वसाधारण जस्तै फोटो खिच्न सभागृहमा पुगेपनि सर्वसाधारणले सिंहलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ ।

सरल रुपमा फोटो खिच्ने लाईनमा भेटिएका नेता सिंहले राष्ट्रिय परिचय पत्र सरकारी कामकाजका लागि अनिवार्य गरेका कारण आफू सभागृहमा फोटो खिचाउने आएको बताए ।