लुम्बिनी प्रदेश सभाको १९ औं बैठक शनिबार बस्ने, यस्तो छ कार्यसूची

काठमाडौ। लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको १९ औं बैठक ३० गते दिउँसो शनिबार १ बजे बस्ने भएको छ ।

असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको जनाएका छन् ।

भोलिको बैठकमा प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको उनले जनाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो । प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी भइरहेको छ ।