बेच्न ल्याइएको १४ सय किलोग्राम माछा नष्ट

काठमाडौं । झापामा बिक्री गर्नका लागि ल्याइएका सडे गलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।

पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार पक्रिया पुरा गरी आवश्यक कागज पत्र सहित ल्याएको अन्दाजी ४ लाख २० हजार मूल्यको १४ सय किलोग्राम माछा सडेगलेको पाइएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको मधेस प्रदेश ०३–००१ च ७५१० न.को माछा लोड रहेको पिक अप गाडी आफै अनियन्त्रित भई पल्टिएर माछा, आइस छरपस्ट भएपछि छरपस्ट भएका माछा बटुलेर अर्को गाडीमा हालेर ल्याएको पाइएको रिजालले बताएका छन् ।

छरपस्ट भएको उक्त माछा पुन ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी पोस्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा रहु र कार्प जातको माछा सडे गलेको देखेपछि नियन्त्रणमा लिएको पनि उनले बताए ।

उक्त माछा बोकेको गाडी नियन्त्रकमा लिई पशु क्वारेनटाइन कार्यालय गौरीगञ्जलाई जानकारी गराएर तत्कालै प्राविधिक बोलाइ जाँच गर्दा खान अयोग्य भनेपछि अयोग्य रहेका सबै माछा नष्ट गरिएको रिजालले जानकारी दिए । माछा कुहिएर गन्हाउन थालिसकेको थियो ।

प्राविधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको जानकारी गराएपछि जनप्रतिनिधि र स्थानीयको रोहबरमा इलाका प्रहरी कार्यालय झिलझिले परिसरभित्र खाल्डो खनेर माछा पुरिएको हो, रिजालले भने । गोरखापत्र