बजेट कम भएको भन्दै राजीनामा दिएर वडाध्यक्ष हिँडेपछि…

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएर कार्यालय नगएको २३ दिन पुगिसकेको छ। वडाध्यक्ष कार्यालय नगएपछि सर्वसाधारण भने अन्योलमा छन्।

बुधबार फोनमा उनले आफू काठमाडौंमा रहेको बताए ।

वडालाई छुट्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै असार १२ गते उनले पदबाट राजीनामा दिएका थिए।

घोराही उपमहानगरपालिकाले असार १० गते ल्याएको आर्थिक वर्षको बजेटमा हरेक वडाका लागि ८० लाख बजेट विनियोजित गरिएको थियो। घोराहीमा १९ वडा छन्। उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

अघिल्लो वर्ष पनि उनले पदबाट राजीनामा बुझाएका थिए। पछि फेरि कार्यालय फर्किएका थिए।

राजीनामा बुझाएर काठमाडौं घुम्न गएका शाहलाई कार्यालय फर्किने कि नफर्किनेबारे जिज्ञासा राख्दा दुईदेखि अढाइ करोड बजेट शर्त रहेको बताए। त्यसमा छलफल गर्न मेयर राजी भए आफू वडा फर्कने बताए।

‘मेयर नरुलाल चौधरीले मलाई पटक–पटक फोन गरेर कार्यालय जानु पर्‍यो भन्दै आउनु भएको छ,’ उनले भने, ‘मैले उहाँलाई स्पष्ट भन्दै आएको, कि मेरो वडामा कम्तीमा पनि दुईदेखि अढाइ करोड बजेटको सुनिश्चितताका लागि छलफल गर्न तयार भए मात्रै फर्किन्छु नत्र फकिन्नँ भनेर उहाँलाई भनिसकेको छु।’

शाहले आफ्नो वडाको निम्न माध्यमिक विद्यालय दुन्द्राको शौचालय बनाउनुपर्ने पहिलो माग राखे।

‘नमूना विद्यालय घोषणा भइसकेको स्कुलमा झन्डै २५ वर्ष पहिले बनाइएको एउटा मात्रै पुरानो, जीर्ण शौचालय छ,’ उनले भने, ‘केटाकेटी एउटै शौचालयमा जानुपर्ने बाध्यता छ। कम्तीमा त्यहाँ आधुनिक शौचालय बनाउने बजेटको जरूरत छ।’

त्यस्तै, उनले बाटोमा हाल्नका लागि कल्भर्टहरू चाहिएको र पुराना डिप बोरिङहरू बिग्रिएको हुँदा त्यसलाई मर्मत गर्न पनि रकम चाहिने पनि उनले बताए।

‘मैले मेयरलाई यी सबै बताइसकेको छु। यी सबै कुराहरू पूरा गर्नेगरी बजेट दिनेबारे छलफल गर्न राजी हुने भए मात्र फर्कन्छु भनेर भन्दै आएको छु,’ उनले प्रश्न गरे, ‘निर्वाचनको समयमा जनतासँग गरेका वाचा पूरा गर्न नसक्ने हो भने वडाध्यक्ष हुनुको के अर्थ रहन्छरु भोलि जनताले के भन्छन्रु’

वडाका लागि छुट्ट्याइएको ८० लाखमध्ये दस लाख कार्यालय सञ्चालन खर्चमै सकिने उनले बताए। बाँकी दुई लाख विगतदेखि नै सामुदायिक विद्यालयका विद्यार्थीका लागि कापी–कलम किन्न छुट्याएको उनले बताए। त्यस्तै साढे दुई लाख ज्येष्ठ नागरिकलाई तीर्थाटनका लागि छुट्ट्याएको उनको भनाइ छ।

बचेको रकमबाट वडामा आफूले चाहेअनुरूप विकास गर्न नसकिने देखेरै नागरिकको गाली खानुभन्दा राजीनामा दिन उचित ठानेको उनले बताए।

मेयर चौधरीले पनि वडाध्यक्ष शाह कार्यालय फर्किने आशा व्यक्त गरे। हस्ताक्षर नगरी वडाध्यक्ष शाहले आफूलाई राजीनामा पत्र बुझाएको हुँदा फर्किनेमा ढुक्क रहेको उनले बताए ।

‘उहाँ नफर्किने भए त हस्ताक्षरसहितको राजीनामा बुझाउनु हुन्थ्यो होला,’ मेयर चौधरीले भने, ‘उहाँले मलाई बुझाएको पत्रमा हस्ताक्षर छैन, त्यो एउटा घुर्की मात्रै हो भन्ने मलाई लाग्छ।’

मेयर चौधरीले पछिल्लो समय आफू र वडाध्यक्ष शाहको बीचमा फोनमा समेत कुरा नभएको जानकारी दिए ।

आफूसँग कुरा नभए पनि पार्टीका नेताहरूसँग वडाध्यक्ष शाहले कार्यालय फर्किने कुरा गर्ने गरेको मेयर चौधरीले बताए

‘पार्टीका साथीहरूसँग उहाँले आफू उपचारका लागि काठमाडौंमा रहेको र केही दिनमा फर्किएर कार्यालय जान्छु भन्नु भएको रहेछ,’ उनले भने, ‘उहाँ जस्ता युवाले फर्किएर आफ्नो बुद्धि विवेक र जोसलाई जनताको हकहितमा खर्चनुपर्छ।’

बजेटको कुरालाई लिएर राजीनामा दिनु उचित नभएको मेयर चौधरीको तर्क छ।

उनले तुलसीपुरले ३५ लाख वडालाई छुट्ट्याउँदा घोराहीले ८० लाख दिएको पनि हेर्नुपर्ने बताए।

‘नगर बनाउन सबैको रचनात्मक सहयोग चाहिन्छ,’ उनले भने ‘त्यसमाथि वडाध्यक्षले त्यो पनि आफ्नै पार्टीकाहरूले घुर्की लगाउँदै राजीनामा बुझाउनु उचित हो जस्तो लाग्दैन।’

उपमेयर हुमा डिसीले पनि वडाध्यक्ष शाहको राजीनामा आउनु नौलो कुरा नभएको बताएकी छन्।

गत वर्ष पनि राजीनामा बुझाएर काममा फर्किएकाले यसपटक पनि कार्यालय आउने उनको विश्वास छ।
सेतोपाटी