सवारी ज्यान मुद्दाका फरार प्रतिवादी बीस वर्षपछि पक्राउ परे

काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २०६० साल भदौ २९ गते बुटवल उपमहानगरपालिका वडा नं। ८ शान्तिपथमा बालिकालाई ठक्कर दिएपछि फरार रहेका ट्याक्टर चालक ईन्द्रप्रसाद थारु २० वर्षपछि मंगलबार पक्राउ परेका हुन्।

थारुले चलाएको लु १ त ५३०६ नं.को ट्याक्टरले ठक्कर दिँदा बुटवल ८ शान्तिपथका बिनोद भुसालको ६ वर्षीया छोरी सविना भुसालको मृत्यु भएको थियो।

बालिकालाई ठक्कर दिएलगत्तै फरार भएका थारुलाई खोजी गर्दै जाँदा मंगलबार बुटवल १७ स्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।