फिफा महिला विश्वकप : उद्घाटन खेलमा न्युजिल्यान्ड विजयी

काठमाडौं । हाना विल्कसनको निर्णायक गोलप्रेरित न्युजिल्यान्डले आजदेखि सुरु भएको फिफा महिला विश्वकपको उद्घाटन खेलमा नर्वेलाई १-० को नतिजामा पराजित गरेको छ।

न्युजिल्यान्डको अक्ल्यान्डस्थित इडेन पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोस्रो हाफमा आक्रमक शैलीमा मैदान उत्रिएको न्युजिल्यान्डका लागि विल्कसनले ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

ज्याकी ह्यान्डले दिएको पासलाई विल्कसनले गोलका परिणत गरेकी थिइन्। निर्धारित समयको अन्तिम मिनेटका न्युजिल्यान्डले पेनाल्टी पाएको थियो। तर, रिया पर्सिभाल पेनाल्टीमा चुक्दा न्युजिल्यान्डले अग्रता दोब्बर बनाउन पाएन।

तर, जितसँगै घरेलु टिम न्युजिल्यान्डले विश्वकपमा विजयी सुरुआत गरेको छ। अस्ट्रेलियासँग संयुक्तरूपमा आयोजक रहेको न्युजिल्यान्डले समूह ‘ए’अन्तर्गत २५ जुलाईमा फिलिपिन्स र स्वीटजरल्यान्डसँग खेल्ने छ। आजै अस्ट्रेलियाको सिड्नीमा हुने समूह ‘बी’को पहिलो खेलमा अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड आमने सामने हुँदैछन्।