काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा सहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।
विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको हो ।
विभाग स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको छ । बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
Add Comment