विमानस्थल भन्सार र अध्यागमनको निरीक्षणमा गृहमन्त्रीसहितको टोली

काठमाडौँ । भन्सार जाँचपासबाटै एक सय किलो सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत पनि गृहमन्त्रीसँग छन् ।

भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि निरीक्षणमा गएका हुन् । भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।

त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई समेत निलम्बन गरिएको प्रवक्ता खड्काले इकान्तिपुरलाई जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।