भ्रष्टाचार र अपराधका घटनामा राज्यले कुनै कोट, कुनै टार, कुनै पार्टी हेर्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जो कोहीलाई पनि कारबाही हुने बताएका छन्।

शुक्रबार बिहान विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनले यस्तो चेतावनी दिएका हुन्। त्यसअवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानीलकण्ठको पनि मिलेमतो हुने गरेको छ निरु भन्ने प्रश्न गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए। उनले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत्ति नहुने गरी नयाँ योजना ल्याउने घोषणा समेत गरे।

उनले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गाम्भीर्य अपनाउन नसकेको स्वीकार गर्दै आइन्दा त्यस्तो अवस्था आउन नदिने दृढतासमेत व्यक्त गरे।

उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्‍याएरै छाडनेसमेत दोहोर्‍याए। उनले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकिरसमेत गरे। आफूलाई भ्रष्टाचारविरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनको जिकिर थियो।

उनले भने,’हामीले सुन तस्करीबारे सम्पूर्ण रुपमा पुनरावलोकन गरेर जुन प्रकारको सचेतता, सावधानी र गाम्भीर्यता अपनाउनु पर्दथ्यो, त्यसमा कमीकमजोरी भयो। भ्रष्टाचार र अपराधका कुनै घटनाबारे अनुसन्धान गर्दा कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन। राज्यले यसरी हेर्दैन। यति बुझे हुन्छ।’