ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ परेका छन्।

ललितपुर प्रहरीले ताप्लेजुङ स्थायी घर भएका २६ वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो।

चापागाउँ दोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका राईले शुक्रवार ड्युटीमा रहेका प्रहरी हवलदार सुनिल शाहमाथि हातपात गरेको आरोप लागेको छ।

ललितपुर प्रहरीका अनुसार पसल नजिकै युवाहरू जम्मा भएर नियमित रूपमा डिस्टर्ब गरेको भन्दै राईले शाहलाई आग्रह गर्न आएका थिए। तर आफू ट्राफिक प्रहरी भएको र त्यो जिम्मेवारी आफ्नो नभएको शाहले बताएपछि विवाद चर्किएको थियो। त्यसक्रममा शाहले धकेलेपछि राईले पनि हातपात गरेको सिसिटिभीमा देखिएको छ।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले आवश्यक अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिइएको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ’, उनले भने।