सुन तस्करी प्रकरणमा अहिले भरिया मात्र पक्राउ परेका छन् : सांसद पन्त

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणबारे संसदमा सरकारसँग जवाफ माग्ने भएको छ। बुधबार दिउँसो बसेको संसदीय दलको बैठकपश्चात सांसद रघुजी पन्तले संसदमा गृहमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्।

पन्तले संसदमा मन्त्रीको जवाफ माग गर्ने बताए। उनले भने,‘सुन काण्डका दोषीलाई पक्राउ गरि कारबाही गर्नुपर्छ। अहिले भरिया मात्र पक्राउ परेका छन्। तत्काल मालिक को हो अनुसन्धान गर्नुपर्छ। भरिया मात्र नभई सुन ल्याउने मुख्य मान्छेलाई नै कारबाहीको दायरामा ल्याउनुपर्छ। ’

पन्तले मालिकलाई समाएर निर्दोष भरियालाई छाड्नुपर्ने बताए। सुन तस्करी प्रकरणमा गृह प्रशासन र अर्थ मन्त्रालयको कर्मचारीको मिलेमतो विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताए। एमालेले भन्सार जाँचपास भइसकेको सुन बरामद भएकाले संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नु ठहर गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो भन्दा परिमाणको सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको थियो।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुई पाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको हो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ। बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा पुर्‍याइएको छ।