स्रोत नखुलेको ४८ लाखसहित एकजना पक्राउ

काठमाडौं । कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रकमसहित एक जना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले अवैध तरिकाले राखेको भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रूपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हजार १२७ रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरी उपरीक्षक बस्नेतले बताए । स्थानीयले उनको सुनको कारोबार गरेको हुनसक्ने आशंका गरेका छन् ।