अभ्यास खेलमा श्रीलंकाको स्थानीय क्लबसँग नेपाल पराजित

काठमाडौं । एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा स्थानीय क्लबसँग पराजित भएको छ।

कोलम्बोको पुरानो क्रिकेट क्लब मध्येको एक ब्लूमफिल्ड क्रिकेट क्लबसँग नेपाल ६ विकेटले पराजित भएको हो।

नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले ४ विकेटको क्षतिमा २४.३ ओभरमा पूरा गर्‍यो।

उसका लागि बोयागोदाले ९० रन जोडे भने अशन फर्नान्डोले नटआउट ५६ रन बनाए।

बलिङमा नेपालका प्रतिश जिसी र सूर्य तामाङले २.२ विकेट लिए।

त्यसअघि ब्लूमफिल्ड क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा १९७ रनमा अलआउट भयो।

नेपालका लागि ‌ओपनिङ गरेका अर्जुन साउदले सबैभन्दा बढी ७९ रन जोडे। उनले ११३ बलमा ४ चौका र ३ छक्का हिर्काए। अर्का ओपनर देव खनाल २२ रनमा आउट भएका थिए।

गुल्सन झा ९ रन, सन्दीप जोरा ३१ रन, कुशल मल्ल ३ रन, पवन सर्राफ १० रन, सोमपाल कामी ११ रन, प्रतिश जिसी १६ रन, सूर्य तामाङ शून्य, करण केसी ११ रनमा आउट भए।

बलिङमा ब्लूमफिल्डका वानिनायके र सामरावीराले २-२ विकेट लिन सफल भए।

श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षण रहेको नेपालले अब थप तीन अभ्यास खेल खेल्नेछ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन्।

समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानको मुल्तानमा यो खेल प्रतियोगिताको उद्‌घाटन खेल समेत हो। एसिया कपको समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तनबाट श्रीलंका पुग्न पर्नेछ नेपाल। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन(तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) हुनेछ।

एसिया कपपछि नेपालले चीनमा हुने १९औं एसियन खेलमा सहभागिता जनाउनेछ।