टीट्वान्टी विश्वकपको एसिया छनोट कार्त्तिकमा आयोजना हुने

काठमाडौँ । टीट्वान्टी विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एसियाली क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने अधिकार नेपाललाई दिएको छ ।

आईसीसीले एसियाली क्षेत्रको छनोट प्रतियोगिताको मिति पनि सार्वजनिक गरेको छ । छनोट प्रतियोगिता आगामी कार्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल सहित आठ राष्ट्रको सहभागिता रहने छ ।

प्रतियोगितामा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, हङ्कङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टोलीको भने टुङ्गो लाग्न बाँकी छ । छनोट प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।

प्रत्येक समूहका शीर्ष दुई टोली छनोट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वान्टी विश्वकपमा स्थान बनाउने छन् । छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने बताइएको छ । टीट्वान्टी विश्वकपको नवौँ संस्करणमा २० वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने १२ टोलीको टुङ्गो लागिसकेको छ ।