महिला विश्व कप : अमेरिका र नेदरल्यान्ड्स बराबरीमा

काठमाण्डौ । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा खेलमा एकरएक गोलको बराबरी भयो ।

नेदरल्यान्ड्सले खेलको १७औँ मिनेटमा जिल रुर्डको गोलबाट अग्रता लिएको थियो तर अमेरिकाका लागि खेलको ६२औँ मिनेटमा लिन्डसे होरानले बराबरी गोल फर्काइन् । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । अमेरिका र नेदरल्यान्ड्सको समान चार अङ्क भएको छ । समूह ‘ई’ मा पोर्चुगल र भियतनाम अङ्कविहीन छन् । आज हुने अर्को खेलमा पोर्चुगल र भियतनामबीच दिउँसो सवा एक बजे खेल हुनेछ । त्यस्तै, समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाको खेल दिउँसो पौने ४ बजे हुनेछ ।

हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।