संविधानविपरीत चल्न खोज्नलाई सर्वोच्चले सही बाटोमा ल्यायो : हिक्मतकुमार कार्की

काठमाडौँ । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानविपरीत चल्न खोज्नलाई सर्वोच्चले सही बाटोमा ल्याएको बताएका छन् ।

कार्कीले प्रदेश प्रमुख, सभामुख र अन्य केही दलहरुले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले गलत ठहर गरेको उल्लेख गर्दै अब नयाँ सरकार निर्माणमा आफूहरु पनि लाग्ने बताए ।

कार्कीले दिएको रिटमाथि सर्वोच्चको पूर्ण इजलासले बिहीबार आदेश गर्दै कोशीमा २० दिनअघि भएको सरकार निर्माणको प्रक्रिया अवैधानिक भनेको थियो । सर्वोच्चको आदेशपछि कार्कीले भने, ‘संविधानविपरीत काम भएको थियो त्यो कुरा सर्वोच्चले पनि भनिदिएको छ । अब हामी फेरि सरकार निर्माणको प्रक्रियामा लाग्छौं ।’

सर्वोच्चले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउने प्रक्रिया सात दिनभित्र पूरा गर्न भनेको छ । त्यो अवधिभित्र एमालेले पनि बहुमत जुट्ने अवस्था बने सरकारमा दाबी गर्ने उनले बताए । उपधारा २ अन्तर्गत कुनै पनि दलले बहुमत प्राप्त गर्ने अवस्था नबने त्यस्तो अवस्थामा प्रदेश सभामा रहेको ठूलो दलले सरकार निर्माण गर्न सक्ने गरी अदालते संविधानको धारा नै उद्धृत गरेर बिहीबार आदेश गरेको छ । यही हालको गठबन्धनले बहुमत पुर्‍याउन नसकेको अवस्थामा संविधानको अर्को उपधारा अनुसार स्वतस् एमालेको सरकार बन्छ ।