कारागारमा कोरोना जोखिम उच्च हुँदै

काठमाडौँ । देशभरका कारागारमा कोरोना संक्रमणको त्रास बढेको छ । ठाउँ अभावले दूरी कायम गर्न नसक्दा कारागारमा संक्रमण जोखिम थपिएको हो ।

सुन्धारास्थित केन्द्रीय कारागारमा आइतबार थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको कारागार व्यवस्थापन विभागका प्रवक्ता देवर्सी सापकोटाले बताउनु भयो । विभागले शंका लागेका देशभरका ८ सय ७९ जनाको पीसीआर परीक्षण गरेको थियो । ५ सय ९४ कैदीबन्दी, २ सय ७ जना सुरक्षाकर्मी र ७८ जना कर्मचारीको स्वाब परीक्षण गरिएको हो ।

परीक्षणपछि १ सय ६६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ७२ जना उपचारपछि संक्रमणमुक्त भइसकेका र अन्यको उपचार भइरहेको सापकोटाले बताए ।

उनकाअनुसार पर्सा कारागारमा मात्रै ३३ जनामा कोरोना देखिएको छ । त्यहाँका ४ जनाको मात्रै उपचार भइरहेको छ । बाँके कारागारमा ८ जनामा संक्रमण देखिएकामा उनीहरु उपचारपछि निको भइसकेका छन् ।