काठमाडौँ उपत्यकाका सीडीओको भर्चुअल बैठक बस्दै, फेरि थपिएला त लक डाउन ?

A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा जारी निषेधाज्ञाको समय भोलि रातिदेखि सकिँदैछ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिन एक दिनमात्रै बाँकी हुँदा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अब कस्तो रणनीति बनाउने भनेर गर्दैछन्।

जारी निषेधाज्ञालाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल भइरहेको बताइएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक बस्न लागेको जानकारी दिइन्।

‘के गर्ने भन्ने अहिले नै हामीले निर्णय गरिसकेका छैनौं। छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘आज भर्चुअल बैठक बस्दैछौं। त्यसमा पनि गहन छलफल हुन्छ।’ उनले भोलिसम्ममा आवश्यक निर्णय लिइने बताइन्।

निषेधाज्ञाको समय केही घटाउने विषयमा पनि सुझावहरु आइरहेको भन्दै उनले संक्रमण फैलिन नदिने हिसाबले के कसरी काम गर्न सकिन्छ भन्नेबारेमा निर्णय गरिने प्रष्ट पारिन्।

भदौ ३ मध्यरातदेखि उपत्यकामा लगाइएको निषेधाज्ञाको समय भोलि मध्यरात १२ बजेदेखि सकिँदैछ। आजको भर्चुअल बैठकबाट साझा धारणा बनाएर गृह मन्त्रालयमा पठाइने र गृह मन्त्रालयको आवश्यक सुझावपछि प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गर्नेछन्।

विज्ञ तथा अन्य क्षेत्रबाट पनि निषेधाज्ञामात्रै गरेर नहुने, परीक्षणको दायरा व्यापक बनाउनुपर्ने र केही खुकुलो बनाएर जान सकिने सुझाव आएका छन्।