युरोयिपन लिग खेल्न सावित्रा भण्डारी इजरायल प्रस्थान

काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन्। सावित्रा मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन्।

सावित्राले इजरायलको हापोएल रानानाबाट युरोयिपन लिग खेल्ने छिन्। सावित्रा युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्। इजरायल एसियाली राष्ट्र भए पनि त्यहाँको क्लब युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) मा आबद्ध भएर युरोपियन फुटबल खेल्दै आएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता सावित्राले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन्। उनले राष्ट्रिय टोलीबाट ४५ खेलमा ४४ गोल गरिसकेकी छन्। विभागीय टोली एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी सावित्राले भारतीय आई लिग पनि खेलिसकेकी छन्।

भारतीय शीर्ष डिभिजनको लिगमा तहल्का मच्चाएपछि उनको चर्चा चुलिएको थियो। सावित्राले आई लिगको १० खेलमा २९ गोल गर्दै गोकुलम केरालालाई उपाधि दिलाएकी थिइन्।