निर्णायक खेलमा भारतसँग वेस्ट इन्डिज दुई सय रनले पराजित

काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली भारत दुई सय रनको फराकिलो अन्तरले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलालाई पनि २—१ ले आफ्नो पक्षमा पारेको छ ।

शृङ्खलाको पहिलो खेलमा भारत र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए । अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले भने ३५.३ ओभरमै अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो । दोस्रो खेलमा निराशाजनक प्रदर्शन गरेका भारतीय ब्याट्सम्यान अन्तिम खेलमा भने लयमा फर्किएका थिए ।

भारतीय ब्याट्सम्यानद्वय ईशान किसन र शुभमन गिलले ओपनिङ विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए । गिलले ९२ बलमा ११ चौकाको मद्दतले ८५ रन बनाए । अर्का ओपनर किसन ६४ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ७७ रन बनाउँदै पेभेलियन फर्किए ।

भारतका लागि अन्य दुई ब्याट्सम्यानले पनि अर्धसतक पूरा गरे । कप्तान हार्दिक पाण्डेले अविजित ७० रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका पाण्डेले पाँच छक्का र चार चौका पनि प्रहार गरेका थिए । सञ्जु सामसनले पनि ५१ रन जोडे । उनले ४१ बलमा चार छक्का र दुई चौका हिर्काए ।

सूर्यकुमार यादवले ३५ रन जोडे । क्यारेबियन टोलीका बलर रोमारियो सेफर्डले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

वेस्ट इन्डिजका लागि गुडाकेस मोटाईले सर्वाधिक अविजित ३९ रन बनाए । भारतीय बलर सार्दुल ठाकुरले चार विकेट लिए । मुकेश कुमारले तीन विकेट हात पारे । कुलदिप यादवले दुई विकेट लिएका थिए । भारतका शुभमन गिल म्यान अफ दी म्याच घोषित भए । भारतकै ईशान किसन म्यान अफ दी सिरिज बने ।