मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौँ । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।

प्रहरी प्रशासन र केही स्थानीयवासीले अवरोध गरे पनि गुठीयारलगायत केही स्थानीयवासीले बिहीबार मध्याह्न रथ तान्न सुरु गरेका थिए।

रथ निर्माण गरिएको स्थानबाट तानेर केही अगाडि ल्याएपछि गुठियार सदस्य, स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

लकडाउनकै बीचमा ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ निर्माण गरिएको थियो। यसअघि लकडाउनकै कारण पटक–पटक रथ तान्ने साइत सारिएको थियो। कोरोना संक्रमणको जोखिम बढेका कारण काठमाडौं उपत्यकामा २४ भदौसम्म निषेध आदेश लगाइएको छ।

निषेध आदेशमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइँदैन। सरकारले पनि चाडपर्व, जात्रा घरभित्रै परिवारबीच मात्रै मनाउन आग्रह गर्दै आइरहेको छ।