लक डाउनको विकल्पसहित ठोस योजना ल्याऊ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले ठोस योजनाबिना हचुवाको भरमा निषेध आदेश जारी गर्दा जनजीवन कष्टकर बनाउने काममात्र भएको जनाएको छ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक–सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न समितिले सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले बिहीबार विज्ञप्ति प्रकाशित गरी सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाएको छ।

‘निषेधाज्ञा लगाउने–नलगाउने निर्णय स्थानीय प्रशासनले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन र निषेधाज्ञा गर्ने–हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको छ। अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ।’

निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट झन् चुलिनुका साथै संक्रमण बढ्ने क्रम कम नभएको विज्ञप्तिमा उल्लेख छ। कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको अवस्थामा सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको कांग्रेसले बताएको छ।

कांग्रेसले सरकारलाई यसअघि बुझाएको ध्यानाकर्षण पत्रप्रति सरकारले पूरै बेवास्ता गरेको भन्दै विज्ञप्तिमा फेरि पनि कोरोना रोकथाम तथा जनताको जीवनस्तरमा परेको प्रभाव कम गर्न ठोस योजना ल्याउन माग गरिएको छ।