सोनापुर मिनरल्सले आइपिओनिष्कासन गर्ने, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो।

सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्कासन गर्न लागेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाहरूले भने भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन ट्रिपल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।