खतिवडाले मन्त्रीबाट राजिनामा दिएपनि वामदेवको नामै किन लिएनन् प्रधानमन्त्रीले ?

काठमाडौँ । मन्त्रिपरिषद्को शुक्रबार बोलाइएको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई हल्लाको पछि नलागी काम गर्न निर्देशन दिए ।

‘मन्त्रीहरु हेरफेर हुने रे के के रे के के भनेर बजारमा खूब हल्ला चलेका छन्, यी सुनियोजित हुन्,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘कोही पनि तरङ्ग्गित र प्रभावित नभई निरन्तर आफ्नो कार्यसम्पादन गर्दै रहनुहोला ।’

प्रधानमन्त्रीले यसो भनिरहँदा उनका प्रियपात्र अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले आजै अपरान्ह राजीनामा बुझाउने कुरा गरे । उनले मन्त्रीका हैसियतमा यो आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदा प्रम ओलीले उनीतिर हेरिरहे मात्रै ।

केही समयपछि प्रधानमन्त्रीले आजै खतिवडाको राजीनामा स्वीकृत हुने बताए । सबैतिर चर्चा भएअनुसार मन्त्रिपरिषदले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गर्नेबारे बैठकमा कुनै सल्लाह भएन ।

उनले गौतमको नाम नलिए पनि मनोनयनबारे मुख्यसचिवलाई आजकै बैठकको माइन्युटमा लेख्न निर्देशन दिने अपेक्षा गरिएको छ । बालुवाटार स्रोतका अनुसार डा. खतिवडाको राजीनामा आउनासाथ उनको नयाँ जिम्मेवारीबारे पनि आजै प्रधानमन्त्रीले निर्णय लिनसक्ने बताइएको छ ।